FAQs Complain Problems

मझौला शहरी योजना अन्तर्गत फोहर व्यवस्थापनको काम शुरू

मझौला शहरी एकीकृत वातावरणीय सुधार योजना अन्तर्गत चैत २१ गते आइतवारदेखि फोहर व्यवस्थापन केन्द्रको काम शुरू भएको छ। वीरगंजको विकासमा महत्त्वकाङ्क्षी योजनामा पर्ने यो योजना अन्तर्गत एक चरणको काम करिब ४० प्रतिशत सम्पन्न भइसकेको छ। नेपाली ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले यही मई ६ सम्म सम्पन्न गर्नुपर्ने पहिलो चरणको काम भूकम्प र त्यसपछिको मधेस आन्दोलनको कारण धेरै प्रभावित भएकाले ढिला हुन गएको छ। ठेकेदार कम्पनीले योजनाको कार्य सम्पन्न गर्नको लागि थप १ वर्ष समयावधिको माग गरेको छ। आइतवारदेखि शुरू भएको फोहोर व्यवस्थापनको काम चिनियाँ ठेकेदार कम्पनी जेडआइइसीले गर्दैछ। बाराको इटियाही र विश्रामपुर गाविसमा वीरगंजको फोहोर व्यवस्थापनका लागि १६ बिघा ९ कट्ठा जमिन लिई कार्य शुरू भएको छ। योजनाले यसमा ४७ करोड ६१ लाख खर्चिदैछ। वीरगंजमा १९ वटा वडा हुँदा आएको यो योजनाले थप ११ वटा वडाको फोहर व्यवस्थापन भने गर्दैन। १९ वडाबाट निस्कने दैनिक करिब ६८ टन फोहरबाट ७ टन कम्पोस्ट मल र ४ टन पुनप्र्रयोग गर्न सकिने वस्तु निस्कने र त्यसबाट वीउमनपालाई वार्षिक करिब ६ करोडको आम्दानी हुने आज सम्पन्न शुभारम्भ कार्यक्रममा बताइएको थियो। शुभारम्भ कार्यक्रममा वीउमनपाका कार्यकारी अधिकृत विष्णु कोइराला, फोहोर विज्ञ रमेशकाजी तुलाधर, योजनाका इन्जिनियर शैलेन्द्र श्रेष्ठलगायत योजनाका प्राविधिक, ठेकेदार कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो।