FAQs Complain Problems

"वीरगन्ज उपमहानगरले हटायाे अतिक्रमणकारी " राजधानी दैनिकमा प्रकाशित मिति २०७३।०५।१०

वीरगन्ज उपमहानगरले हटायो अतिक्रमणकारी तुलसी भण्डारी / राजधानी वीरगन्ज, ९ भदौ करिब दुई दशक अघिदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा वीरगन्ज उपमहानगरपालिकाले खाली गराएको छ । अहिलेको चलनचल्तीका हिसाबले झन्डै २ अर्ब मूल्य पर्ने वीरगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको अतिक्रमित सार्वजनिक जग्गा वीरगन्ज उपमहानगरपालिकाले बल्ल खाली गर्न सफल भएको छ । उपमहानगरपालिकाको गत साउन २६ गतेको बोर्ड बैठकको निर्णय र उपमहानगरपालिकालाई झुक्याएर पास गरेको नक्सा बदर गर्ने तथा सार्वजनिक जग्गा उपभोग गर्ने सम्बन्धमा सोही मितिमा उपमहानगरपालिकाले खडा गरेको टिप्पणी आदेशको आधारमा कित्ता नम्बर ७२ को ०४४१८ दशमलव २० वर्गमिटर क्षेत्रफल अतिक्रमण गरिएको जग्गा खाली गराइएको वीरगन्ज उपमहानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत विष्णु कोइरालाले राजधानीलाई बताए । सो जग्गासहित त्यहाँ ऐलानी रहेको कुल २ बिघा जग्गा बल्ल अतिक्रमणबाट उपमहानगरपालिकाको प्रयोजनमा ल्याउन सकिने उनले बताए । बुधबारबाट अतिक्रमणकारी हटाउन थालिएको सो जग्गामा नगरको ट्राफिक व्यवस्थापनका लागि पार्किङस्थल निर्माण गर्न उपमहानगरपालिकाले माटो भर्ने काम पनि सुरु गरेको उनले बताए । सो जग्गासहित वीरगन्ज १२ को सिट नम्बर ०३५०–२४ का कित्ता नम्बर ७४, ६२ र ४५ सहितको जग्गा रामजानकी मन्दिरको नाममा रहेको र कैफियत महलमा सो जग्गाको संरक्षक हीरादेवी ब्राम्हिणी, सुशीलादेवी ब्राम्हिणी र धीरनारायण शर्मा भएको भनी सर्वोच्च अदालतले २०५५ पुस २४ गते निर्णय गरिसकेको छ । सर्वोच्चको देपुनं ४२८६ को फैसला र अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौंको मिति २०६९ साउन १ गते चलानी नम्बर ०२÷१ को मालपोत कार्यालय पर्सालाई लेखिएको पत्रमा पनि सो श्रेस्ताको संरक्षिका वा पूजारीको नाम हटाउन भनी प्रस्ट उल्लेख भएकाले सो सार्वजनिक जग्गा उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा लिनु अन्यथा नहुने वीरगन्ज उपमहानगरपालिकाको दाबी छ । सो जग्गाका संरक्षक तथा संरक्षिका धीरनारायण शर्मा र सुशीलादेवी ब्राम्हिणीको मन्जुरनामाबाट सो जग्गामा प्रितिका इन्भेस्टमेन्ट प्रालिका नाममा बेसमेन्ट जमिन, पहिलो, दोस्रो र तेस्रो तलाको घर नक्सा पासका लागि २०६८ चैत १६ मा दर्ता हुन आएको र पछि १५ दिने सूचना प्रकासित गरिएको प्रक्रियाले उपमहानगरपालिका अझ सजग भएर पछिल्लो कदम चाल्न सफल भएको उपमहानगरपालिकाका प्रवक्ता प्रेम कार्कीले बताए । ‘उपमहानगरपालिका क्षेत्रभित्र अतिक्रमित सार्वजनिक जग्गा यो मात्र होइन । अब भारतीय नागरिक राँकी र अर्का भारतीय नागरिकको नाममा रहेको विवादित हजारीमलको जग्गा पनि उपमहानगरपालिकाले प्रक्रिया पूरा गरी खाली गराउँछ,’ प्रवक्ता कार्कीले भने । सो ठाउँमा नगरको टाउको दुखाइ भएको अव्यवस्थित सवारी पार्किङस्थल बनाउने कार्य तीव्र रूपमा अगाडि बढेको उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताएका छन् । प्रकाशित मिति: २०१६-०८-२६ १०:१३ |